खामेनीले दाबी गरेका छन्, ‘आज इरान क्रान्तिअघि भन्दा धेरै सुसज्जित र हतियारयुक्त छ। हाम्रो आध्यात्मिक शक्ति र परम्परागत हतियार पुरानो समयसँग तुलना गर्न सकिन्न। इरानबारे अमेरिकाको बुझाइ पहिलेजस्तै हो भने त्यो गलत छ।’
खामेनीले लाखौँ सम्मानित मानिसहरूको बलिदानबाट बनेको इरान विनाशकारीहरूको सामना गर्न पछि नहट्ने चेतावनी पनि दिएका छन्।
उनले भनेका छन्, ‘१२ दिनको युद्धमा हाम्रो देशका हजारभन्दा बढी नागरिक सहिद भए। अमेरिकाका राष्ट्रपतिले भने- यो आदेश मैले दिएको थिएँ। त्यसैले उनी आफैँले स्वीकार गरेको कुरा के हो भने इरानीहरूको रगत उनको हातमा लागेको छ। अब उनी इरान राष्ट्रको साथमा उभिएको भन्दै छन्।’
बढ्दो महँगी र बिग्रिँदो आर्थिक अवस्थाविरुद्ध इरानका नागरिक २ हप्तादेखि सडक आन्दोलनमा उत्रिएका छन्। त्यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा कम्तीमा ४० जनाको ज्यान गइसकेको छ।
यस विषयमा ट्रम्पले शान्तिपूर्ण आन्दोलन गरिरहेका इरानी नागरिक मारिने क्रम नरोकिए अमेरिका उद्धार गर्न आउने चेतावनी दिएका थिए।