आइतवार, श्रावण २४ गते २०८३

इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा

मंगलवार , पौष २९, २०८२

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्।

आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट सेयर गर्दै ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँगका सबै व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ, जुन तुरुन्तै लागु हुनेछ। यो आदेश अन्तिम हो।’ यसबारे ह्वाइट हाउसले औपचारिक विज्ञप्ती भने सार्वजनिक नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

रोयटर्सको रिपोर्टअनुसार इरानी निर्यातका प्रमुख गन्तव्य चीन, संयुक्त अरब इमिरेट्स र भारत रहेका छन्। भन्सार कर लागु गर्नाले यी देशले अमेरिकासँग गर्ने व्यापारमा असर पर्न सक्छ।

देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाविरुद्ध गत डिसेम्बर २८ देखि इरानमा सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।इरानमा दुई साताको अवधिमा ५०० जनाको मारिएको र दस हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार