काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताएकी छन् ।
आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेटको क्रममा उनले देश चुनावमा होमिएको बताइन् । उनले भनिन्, ‘मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो । भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनु हुँदैन् ।’ युवाको आकांक्षाअनुरुप आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउन आग्रह गरिन् ।
उनले भनिन्, ‘पुरानो मानसिकताले अब देश चल्दैन् । पुरानो सोच र शैलीले पनि चल्दैन् । अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ । युवाको भावनाअनुसार शासन चल्नुपर्छ ।’ चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ । भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ । मतदाता पनि यसमा चनाखो बन्नुपर्छ ।’
भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो । घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ ।
साथै, घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ ।