काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको घटना सम्झेर सधैं त्रसित भइरहनुपर्ने कुनै आवश्यकता नभएको बताएका छन् । एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीका सदस्यलाई प्रचारप्रसारमा सक्रिय हुन आग्रह गरेका छन् ।
उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘यिनको रिमोट कहाँ छ, यिनलाई आफैं थाहा छैन् । यिनको भाग्य र भविष्यको फैसला कसले गर्छ त्यो यिनलाई आफैं थाहा छैन् ।’ ओलीले एमालेले गरेका काम जनतासम्म पुर्याए पुग्ने र त्यसैमा चुनावी सफलता हुने बताएका छन् । उनले भने, ‘हामीले गरेका काम जनतामा पुर्याए पुग्छ । कुराहरू हुन्छन् । कहिले काहीँ नराम्रा कुराहरू पनि हुन्छन् । साधारण असावधानीले पनि नराम्रा कुरा हुन सक्छन् । विरोधीहरूले खतरनाक योजना बनाइराखेका हुन्छन् ।’
अहिले न्यायालय र निर्णय गर्ने निकायका प्रतिनिधिलाई समेत धम्काइरहेको अवस्था रहेको बताएका छन् । ओलीले भने, ‘सिरक ओढेर धम्की दिने, फेक नम्बरबाट धम्की दिनेहरू कुनै गरी खाने मान्छे हुन् ? लुकेर धम्की दिन्छ । आमनेसामने आएर धम्की दिन सक्छ ? लुकेर धम्की दिन्छ । हामी जस्तो आमनेसामनेबाट भन्नुपर्छ नि । त्यस कारण यो लुकेर धम्की दिनेहरू आफैं डराइरहेका छन् ।’
उनले सिंहदरबार र महान्यायाधिवक्ताको कार्यालयमा ‘जेनजी’ का नाममा केही गतिविधि भइरहेको उल्लेख गर्दै भने, ‘जेनजीको मकुन्डो हो । भित्र अर्कै तत्त्व छ। जेनजी होइन ।’