आइतवार, श्रावण २४ गते २०८३

स्विट्जरल्याण्डतर्फ उडान भरेको ट्रम्प सवार विमान बिचबाटै फर्कियो

बुधवार , माघ ७, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान एयर फोर्स वानमा समस्या आएको छ । स्थानीय समय अनुसार मंगलबार साँझ स्विट्जरल्याण्डतर्फ उडान भरेको करिब एक घण्टापछि संयुक्त बेस एन्ड्रयूजमा फर्किएको हो ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार चालक दलले ‘सानो विद्युतीय समस्या’ देखेपछि अत्यधिक सावधानी अपनाउँदै फर्कने निर्णय गरेको थियो । एपीका अनुसार विमानमा रहेका एक पत्रकारलाई उद्धृत गर्दै उडान सुरु भएको केही समयपछि प्रेस क्याबिनको बत्ती निभेको उल्लेख गरेको छ । तर तुरुन्तै कुनै स्पष्टीकरण दिइएन । उडान सुरु भएको करिब आधा घण्टापछि पत्रकारहरूलाई विमान फिर्ता हुने कुरा भनियो ।

ह्वाइट हाउसका अनुसार ट्रम्प अर्को विमान चढेर डाभोसमा हुने विश्व आर्थिक मञ्चको यात्रा जारी राख्नेछन् । हाल एयर फोर्स वानको रूपमा प्रयोग हुने दुई विमानले करिब चार दशकदेखि उडान भर्दै आएका छन् । बोइङले प्रतिस्थापन विमानमा काम गरिरहेको छ । तर कार्यक्रममा निकै ढिलाइ भएको छ । यी विमानहरूमा विकिरण संरक्षण, क्षेप्यास्त्र प्रतिरोधी प्रविधि, आपतकालीन बाँच्ने क्षमता र विश्वभरबाट आदेश दिने सञ्चार प्रणाली जडान गरिएका हुन्छन् ।

गत वर्ष कतारको शाही परिवारले ट्रम्पलाई एयर फोर्स वान फ्लीटमा थप्न बोइङ ७४७–८ जेट उपहारमा दिएको थियो । सुरक्षा आवश्यकता पूरा गर्न त्यो विमान अहिले परिमार्जन भइरहेको छ । मंगलबार राति एयर फोर्स वानमा पत्रकारहरूसँग लेभिटले ठट्टा गर्दै कतारी जेट अहिले ‘धेरै राम्रो’ सुनिरहेको छ भनिन् ।

गत फेब्रुअरीमा विदेशमन्त्री मार्को रुबियोलाई जर्मनी लैजाँदै गरेको वायुसेनाको विमानमा पनि यान्त्रिक समस्या देखिएपछि वाशिंगटन फर्कनुपरेको थियो । अक्टोबरमा युद्धमन्त्री पिट हेग्सेथलाई लिएर गएको सैन्य विमानको विन्डशिल्ड क्र्याक भएपछि बेलायतमा आपतकालीन अवतरण गर्नुपरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार