इङ्ल्यान्ड युरो कप फुटबलमा पहिलोपटक फाइनल पुगेको छ। कप्तान हेरि केनले अतिरिक्त समयमा गरेको गोलमा इङ्ल्यान्डले बिहीबार बिहान सम्पन्न खेलमा डेनमार्कलाई २-१ गोलले हरायो।
एक सय ४ औँ मिनेटमा प्राप्त पेनाल्टीमा केनको प्रहार डेनमार्कका गोलकिपरले रोकेपनि उनले रिबाउन्डमा गोल गरेका थिए। रहिम स्टर्लिङलाई डीबक्सभित्र फल भएपछि इङ्ल्यान्डले पेनाल्टी प्रहारको अवसर पाएको थियो।
निर्धारित ९० मिनेटको खेल १(१ गोलको बराबरीमा सकिएको थियो। ३० औँ मिनेटमा मिक्केल डाम्सगार्डको शानदार फ्रिकिक गोलमा डेनमार्कले अग्रता लिएको थियो। उनले करिब ३५ यार्डबाट गोल गरेका थिए।
तर ९ मिनेट लगत्तै इङ्ल्यान्ड बराबरीमा पुगेको थियो, आत्मघाती गोलमार्फत। इङ्ल्यान्डका बुकायो साकाको क्रसलाई गोल लाइन नजिकैबाट क्लियर गर्न खोज्दा डेनमार्कका कप्तान सिमोन कियारबाट आत्मघाती गोल हुन पुगेको थियो।
इङ्ल्यान्ड मुख्य प्रतियोगितामा ५५ वर्षपछि फाइनल पुगेको हो। यसअघि सन् १९६६ को विश्वकपमा फाइनल पुगेकामा त्यतिबेला उपाधि पनि जितेको थियो। त्यसयता विश्वकप र युरोकप दुवैमा फाइनलसमेत पुग्न सकेको थिएन।
गत विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। इङ्ल्यान्डले उपाधिका लागि इटालीसँग जुलाई १२ तारिखमा खेल्ने छ।