बिहिवार, आश्विन १५ गते २०८३

राजनीतिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

बुधवार , माघ ७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कुल खसेको मतको ७० प्रतिशतभन्दा बढी हासिल गरेर एमालेले विजयी यात्रा तय गर्ने दाबी गरेका छन् ।

झापाको कमल गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस स्थिर हुन नसकेको र पूर्वमाओवादीका मतदाताहरू समेत एमालेको पक्षमा ढल्किएकाले दुई तिहाइभन्दा बढी मत आउने विश्वास व्यक्त गरेका छन् । झापा क्षेत्र नम्बर ५ मा भएको विकास, रूपान्तरण र बलियो जनआधारका कारण सिंगो क्षेत्र एमालेको पक्षमा एकताबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय राजनीतिलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत भदौमा भएको आन्दोलनलाई राजनीतिक नभई आपराधिक क्रियाकलापको संज्ञा दिँदै उनले सो क्रममा भएका मृत्युहरू समेत आपराधिक कार्यकै परिणाम भएको जिकिर गरेका छन् । नगरपालिका र बिजनेस कम्प्लेक्स जलाउने जस्ता उच्छृङ्खल कार्यले देशलाई अस्थिरतातर्फ धकेल्ने भन्दै उनले दमक जस्तो नमुना सहरमा निर्माण भएका संरचनालाई भत्काउनुको सट्टा ‘आईटी हब’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको औँल्याए ।

विदेशी शक्तिको आडमा एमाले र कांग्रेसलाई मिल्न नदिने खेल भइरहेको आरोप लगाउँदै उनले मुलुकलाई अस्थिरताबाट जोगाउनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले दमक, कमल, गौरादह र गौरीगञ्ज क्षेत्रमा भएका नदी नियन्त्रण, सडक, पुल, विद्युतीकरण र स्वास्थ्य क्षेत्रका विकास निर्माणका कामहरू जनतामाझ छर्लङ्ग रहेको बताए । सुकुम्वासी बस्तीमा डोजर चलाउनेहरूले भूमिहीनको समस्या समाधान गर्न नसक्ने टिप्पणी गर्दै उनले एमालेकै पहलमा विपन्न आवास र एकीकृत बस्ती विकासका कार्यक्रमहरू सफल भएको स्मरण गराएका छन् ।

साथै, रंगशाला निर्माणमा अवरोध पुर्‍याइएको भए पनि फागुनको निर्वाचन लगत्तै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने प्रतिबद्धता जनाए । ​प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि झापा–५ मा व्यस्त रहेका ओलीले एकैदिन १० वटा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूसँग छुट्टाछुट्टै छलफल गरे ।

ओलीको यस अभियानमा इलाम–२ का उम्मेदवार सुहाङ नेम्बाङले पनि साथ दिएका छन्। अध्यक्ष ओली आगामी १० गतेसम्म दमकमै बसेर चुनावी रणनीति र मतदाता भेटघाटमा सक्रिय रहने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार