काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ ।
सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण रूपमा टुंगिएका छैनन् । डब्लुएचओका अनुसार अमेरिकाले अझै सन् २०२४ र २०२५ का सदस्य शुल्क नतिरेकाले १३ करोड डलरभन्दा बढी रकम बक्यौता रहेको छ ।
यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानुनी बाध्यता नरहेको दाबी गरेका छन् । अर्कोतर्फ, विज्ञहरूले अमेरिकाले डब्लुएचओमार्फत प्राप्त गर्दै आएको विश्वव्यापी रोग निगरानीसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्कमा पहुँच गुम्ने खतरा औंल्याएका छन् ।