काठमाडौं । अहिले देशैभरिका प्रदेश राजधानीहरूमा राष्ट्रियसभा निर्वाचनको मतदान चलिरहेको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा आइतबार दिउँसो २ बजेसम्म ९० प्रतिशतभन्दा बढी मतदान भएको छ ।
राष्ट्रियसभा निर्वाचन अधिकृत सुभाष पुरीले प्रदेशसभा सदस्यतर्फ अहिलेसम्म ९६ जनाले मतदान गरेका जानकारी दिएका छन् । स्थानीय तहतर्फ भने २४० जनाले मतदान गरेका छन् । मधेस प्रदेश सभामा हाल एक सयजना सांसद छन् । १०७ जना मध्ये ३ जना कारबाहीमा परेका छन् भने ४ जना प्रतिनिधिसभाको उम्मेद्बार बनेपछि राजीनामा दिएका छन् । प्रदेशसभातर्फ एमालेका दिपेन्द्र ठाकुर, जसपा नेपालका सरोज सिंह कुशवाहा र लोसपाका अभिराम शर्मा निलम्बनमा छन् ।
एमालेबाट रामचन्द्र मण्डल, नेकपाबाट भरत साह, तत्कालीन माओवादी केन्द्र ९हाल रास्वपा० बाट रहबर अन्सारी र जनमत पार्टीका सतिश सिंहले राजीनामा दिएका छन् । राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका छैनन् ।
यस्तै, स्थानीय तहतर्फ २६७ मतदाता छन् । स्थानीय तहका २७२ जना मतदातामध्ये ५ जना कारवाहीमा परेका छन् । स्थानीय तहतर्फ माओवादी केन्द्रबाट बागमति नगरपालिकाका मेयर र उपमेयर, कांग्रेसबाट धनौजी गाउँपालिकाका उपमेयर, जसपा नेपालबाट राजविराज नगरपालिका मेयर, एमालेबाट कल्याणपुर नगरपालिका मेयर निलम्बनमा छन् ।
मधेस प्रदेशमा दलित, अल्पसङ्ख्यक/अपाङ्ग, महिला र अन्य सिटमा आज निर्वाचन भएको हो । निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन बनेको छ भने नेकपाले एक्लै प्रतिस्पर्धा गरेको छ ।