काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै छ। नेकपा एमालेले सभामुख सापकोटा र आयोगलाई विपक्षी बनाई दायर गरेको रिट न्यायाधीश मीरा खड्काको इजलासमा सुनुवाई हुने भएको हो।
एमालेले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पुर्याएर गरेको निर्णय कानुनविपरीत रहेको रिटमा दाबी गरिएको छ। एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी गर्न माग गरेको छ।
यसैगरी, दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ। रिटमा नेता झलनाथ खनालको सनाखत समेत गैरकानुनी रुपमा स्वीकार गरेको दाबी गरिएको छ।