इरान इन्टरनेशनलको सम्पादकीय बोर्डले प्राप्त वर्गीकृत कागजात, फिल्ड रिपोर्ट तथा चिकित्सा कर्मचारी, साक्षी र पीडित परिवारहरूका विवरणहरूको समीक्षा गरेपछि यो संख्या पुष्टि गरेको उल्लेख गरेको छ।
बोर्डका अनुसार हत्याको ढाँचा र अपराधको मात्राले स्पष्ट पारेको छ कि दुई दिनको अवधिमा नागरिकहरूको सबैभन्दा ठुलो र रक्तपातपूर्ण नरसंहार भएको हो ।
इरान इन्टरनेशनलले तेहरानलगायत विभिन्न सहरहरूमा धेरै बन्दीहरूलाई गैरन्यायिक मृत्युदण्ड दिइएको प्रमाण प्राप्त गरेको दाबी गरेको छ। शवगृहका तस्बिरहरूले केही घाइतेहरूलाई अस्पतालमा भर्ना भएका बेला टाउकोमा गोली हानिएको देखाउँछन्।
यसअघि जनवरी १३ मा इरान इन्टरनेशनलले कम्तीमा १२ हजारको मृत्यु रिपोर्ट गरेको थियो। तर इस्लामिक रिभोलुसनरी गार्ड कोर गुप्तचर संगठनको रिपोर्टमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्लाई पेस गरिएको तथ्यांकमा यो संख्या बढेर ३६ हजार ५०० नाघेको छ। अन्य स्रोतहरूले २७ हजार ५०० देखि ३३ हजारसम्म मारिएको उल्लेख गरेका छन्।
चार सयभन्दा बढी सहरका चार हजारभन्दा बढी झडप स्थलहरूमा यो दमन भएको थियो। इस्लामिक रिभोलुसनरी गार्ड कोर र बासिजका साथै इराक तथा सिरियाका प्रोक्सी सेनाहरू पनि दमनमा प्रयोग गरिएको आरोप खामेनीको सरकारमाथि लगाइएको छ।
यो दाबी इरान इन्टरनेशनल जस्ता विपक्षी र पश्चिमा सञ्चारमाध्यमबाट आए पनि इरान सरकारले अस्वीकार गर्दै आएको छ।
लामो समयदेखि इन्टरनेट बन्द भएका कारण पनि त्यहाँको वास्तविक चित्र बाहिर आउन सकेको छैन। खामेनी सरकारले यी विरोध प्रदर्शनका पछाडि अमेरिका र इजरायल रहेको आरोप लगाउँदै आएको छ।