काठमाडौँ । हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज अहिलेसम्मकै उच्चदरमा बढेको छ। आज सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर सुनको भाउ आज तोलाको तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको छ। यो सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो हो।
हिजो सुनको भाउ प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो। गएको एक सातामै सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेको छ। सुनको भाउ गएको मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो।
सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो। गत साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।
आज चाँदीको भाउ पनि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ। चाँदीको भाउ आज सात हजार ५०५ कायम भएको महासंघले जनाएको छ।