काठमाडौं । चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगै सुदूरपश्चिम भ्रमणका क्रममा बेहोस भएका दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
शुक्रबार बिहान अछामबाट हेलिकप्टरबाट काठमाडौं ल्याइएका सिटौलाको टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । अस्पताल स्रोतका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको हो । अहिले उनको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
रास्वपा वरिष्ठ नेता शाहसँगै ४३ वर्षीय सिटौला पनि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ पुगेका थिए । शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर टाउकोमा चोट लागेको थियो । उनलाई तत्कालै जिल्ला अस्पताल, अछाम लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो ।
चिकित्सकले मस्तिष्क र यसलाई ढाक्ने झिल्लीबीचको खाली ठाउँमा रक्तश्राव हुँदा यस किसिमको ‘सफ्ट स्ट्रोक’ भएको बताएका छन् । ग्रान्डी अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । प्रारम्भिक जाँचपछि थप उपचारका लागि आईसीयूमा सारिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, थप स्वास्थ्य जाँच हुन बाँकी छ ।
प्रतिनिधि सभा निर्वाचनको लागि चुनावी अभियानका क्रममा शाहको टोली सुदूरपश्चिम भ्रमण सकेर कर्णालीतर्फ लागेको छ । त्यही टोलीको सदस्यका रुपमा सिटौला पनि सुदूरपश्चिम पुगेका थिए । नुवाकोट घर भएका उनी चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष पनि हुन् ।