काठमाडौं । बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको आज १२ः४५ मा निधन भएको अस्पतालले जनाएको छ । चुनावी अभियानका लागि बालेन्द्रसँगै काठमाडौंबाट सुदूरपश्चिम पुगेका ४४ वर्षीय सिटौला शुक्रबार बिहान अचानक बेहोस भएका थिए । त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमा काठमाडौं ल्याइएको थियो ।
अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौं ।’
सिटौला ‘द सिनेमा टाइम्स अनलाइन’ पोर्टलका सम्पादक र अध्यक्ष हुन् । उनले नेपाल टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम चलाएका थिए । अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो ।