बिहिवार, आश्विन १५ गते २०८३

आइतबार १९.८५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

आइतवार , माघ १८, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आज १९.८५ अंकले घटेको हो ।

आज कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रहेको थियो । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरू अधिकांशले गत आर्थिक वर्ष आम्दानीबाट सेयरधनीलाइ लाभांश वितरण गरिसकेको अवस्था छ । त्यसले गर्दा पनि सेयर लगानीकर्ताले प्रतिफलका लागि धेरै समय पर्खनुपर्ने भएकाले पनि बजारमा नकारात्मक असर गरेको हो । साथै, आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खर्च जोहो गर्न सेयर बिक्री दबाबले पनि बजार घटेको विश्लेषण लगानीकर्ताको छ ।

आज कारोबार सुरु हुँदा २७१४.०५ अंकमा रहेको नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ । आज नेप्सेमा कारोबार भएकामध्ये २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेको छैन् । नेप्सेमा मिथिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको १९ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.८७, विकास बैंक ४३.५४, वित्त ११.३०, लगानी १.०२, जीवन बीमा ६८.३०, लघुवित्त २८.४०, निर्जीवन बीमा ७०.५२, अन्य २१.८९, होटल १३२.३०, जलविद्युत् ४९.१७, उत्पादनमूलक ७१.०५ र सामूहिक लगानी कोष ०.१० अंकले घटेका छन् । आज व्यापार समूह मात्रै २०.९२ अंक बढेको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा ३ सय २९ कम्पनीको १ लाख १० हजार ७ सय २९ कारोबारबाट ९ अर्ब १० करोड बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा १४ अर्बभन्दा धेरैको कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार