काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।
आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागी चिसो बढ्ने छ ।
अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताए ।