काठमाडौँ । इरान र अफगानिस्तानसँग सीमाना जोडिएको पाकिस्तानको बलुचिस्तानमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकू समूहबीच ४० घन्टा भिडन्त भएको खुलेको छ।
शुक्रबार र शनिबार दुई दिनसम्म सुरक्षा बल र लडाकूबीच ४० घन्टा भिडन्त भएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्तीले बताएका छन्।
उनका अनुसार भिडन्तमा १४५ जना लडाकू मारिएका छन्। सरकारी सुरक्षा बल र सर्वसाधारण गरी कम्तिमा ५० जना मारिएको पनि उनले बताएका छन्।
पाकिस्तानी सुरक्षा बलले छोटो अबधिमा यति ठूलो संख्यामा लडाकू मारिएको यो पछिल्लो केही वर्षयताकै घातक कारबाही रहेको जनाएको छ।
पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले आक्रमणकारीहरू सर्वसाधारणको भेषमा अस्पताल, विद्यालय, बैंक र बजारभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको बताएका छन्।
उनका अनुसार लडाकुहरूले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोगसमेत गरेका थिए। प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले घटनाको जिम्मा लिएको छ। उसले यसलाई ‘हेरोफ’ वा ‘ब्ल्याक स्टर्म’ नाम दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।