काठमाडौं । चितवनमा प्रदर्शनका क्रममा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी भएको छ ।
भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशासनबाट लिएर समूह चौबीसकोठी पुगेको थियो । तर, फर्किने क्रममा बाटोमै सभा गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा दुर्गा प्रसाईं समूह र प्रहरीबीच लछारपछार भएको बताइएको छ । चितवन प्रहरीका अनुसार प्रसाईं समूहलाई चौबीसकोठीसम्म र्याली गर्न मात्र अनुमति दिइएको थियो ।
तर, बाटो नै बन्द गरी सभा गर्न खोजेपछि प्रहरीले रोक्ने क्रममा विवाद चर्किएको हो । प्रहरीका अनुसार करिब ५–७ सय जनाको समूहले सडक अवरुद्ध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तितरबितर पार्नु परेको हो ।
घटनामा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।