काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले २३ र २४ भदौको घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताएका हुन् । उनले भने, ‘तालमेलको गीत त गाइरहने कुरा हो । तत्कालै तालमेल भइहाल्ला भन्ने सम्भावना म देख्दिनँ ।’
उनले अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने बताएका छन् । गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको तर्क गरेका छन् । उनले अराजकता, अस्थीरता र प्रतिगमन सच्चाउनका लागि एमाले लाग्ने भएकाले केही स्थानमा सातोतिनो सहकार्य हुन सक्ने बताएका छन् ।
त्यस्तै उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरूलाई पुराना भनेर आरोप लगाउने गरेको भन्दै उनीहरूसँग कुनै एजेन्डा नै नरहेको बताएका छन् । कसैले आरोप लगाउँदैमा लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ रहेको छ ।
उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरेका छन् ।