काठमाडौं । काठमाडौंबाट टर्कीको इस्ट्यानबुलका लागि उडेको जहाज इन्जिनमा आगो लागेपछि कलकत्ता डाइभर्ट गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
काठमाडौंबाट दिउँसो १ः२९ मा विमानले उडान भरेको टीके–७२७/ए३३३ उडान नम्बरको जहाजको दायाँ इन्जिनमा ‘फायर रिपोर्टिङ’ भएको कार्यालयले उल्लेख गरेको छ । काठमाडौं एप्रोच कन्ट्रोलमा उक्त रिपोर्टपछि जहाज कलकत्ता डाइभर्ट भएको विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
त्यसपछि केही समय होल्ड गरी कलकत्ता डाइभर्ट भएको जहाज नेपाली समयअनुसार अपराह्न ३ः०३ मा विमानस्थलमा सकुशल अवतरण गरेको हो ।
जहाजमा २२५ यात्रु र चालक दलका ११ गरी जम्मा २३६ जना रहेका थिए ।