काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं मुलुकको कार्यकारी नेतृत्व गर्न चुनावी मैदानमा होमिएको बताएका छन् ।
बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै घिसिङले देशको नेतृत्व र आमूल परिवर्तनका लागि आफ्नो पार्टीको विकल्प नभएको उनले जिकिर गरे । घिसिङले भने, ‘प्रधानमन्त्री हामी हुन्छौं, हामी यो देशको नेतृत्व गर्छौं, यो देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौं । हामी आफैँ प्रधानमन्त्री भएर यो देशको नेतृत्व र परिवर्तन गर्न आएका हौं ।’ घिसिङले अबको चुनावमा भाषण गर्नेलाई नभई काम गरेर नतिजा दिनेलाई जनताले रोज्नुपर्ने बताएका छन् ।
उनले अन्य दलहरूप्रति लक्षित गर्दै सामाजिक सञ्जाल र भाषणको भरमा नभई आफूहरू काम गरेर ‘अर्गानिक’ रूपमा स्थापित भएको दाबी गरेका छन् । उनले भने, ‘अबको भोट भनेको डेलिभरी दिनेहरूलाई हो, काम गर्नेलाई हो, अरु भनेको भाषण गरेर, सामाजिक सञ्जाल चलाएर स्थापित भएका पार्टी हुन् । हामी डेलिभरी दिएर अर्गानिक रूपमा स्थापित भएको पार्टी हौं । हामी छोटो समयमा आएका छौं तर यो पार्टीले नै देशको नेतृत्व गर्नेछ ।’
उनले विगतमा पनि आफूले काम गरेर देखाएको र भविष्यमा पनि परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए । घिसिङले थपे, ‘हामीले हिजो पनि डेलिभरी दिएका छौं, आज पनि दिएका छौं र भविष्यमा पनि परिणाम दिनेछौं ।’ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहसँग सहकार्य गर्ने सहमति गरेका घिसिङले एक सातामै उक्त सहमति भंग गरेका थिए ।
सहमति टुटेसँगै उनी नेतृत्वको उज्यालो पार्टी नेपाल एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको हो ।