काठमाडौं । भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा जारी आइसिसी पुरुष टी–२० विश्वकपको वार्म–अप खेलमा क्यानडाले नेपालसामु जितका लागि १६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो । एक समय क्यानडालाई कम स्कोरमा रोक्ने नेपालको प्रयासमा अन्तिम ओभरहरूमा भएको आक्रामक ब्याटिङ बाधक बन्यो । क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै इनिङलाई सम्हालेका थिए । मध्यक्रममा कन्वरपाल तथगुरले २५ रन जोडे ।
तर, इनिङको अन्त्यतिर श्रेयस मोभा र जष्करण सिंहले आक्रामक ब्याटिङ गर्दै क्यानडालाई सम्मानजनक योगफलसम्म पुर्याए । श्रेयस मोभाले १९ बलमा अविजित ३८ रन बनाए भने जष्करण सिंहले ११ बलमै २१ रन प्रहार गरे । क्यानडाले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो । नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले निकै कसिलो बलिङ गरे । उनले आफ्नो स्पेलको ४ ओभरमा मात्र १४ रन खर्चिएर २ महत्त्वपूर्ण विकेट लिए ।
यस्तै, कुशल भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे । ललित राजवंशी र करण केसीले विकेट लिन सकेनन् ।