आइतवार, श्रावण २४ गते २०८३

एमबीबीएसका विद्यार्थीले झापामा वृद्धको हत्या गरे

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । एमबीबीएसका विद्यार्थीले रिसइबी साधेर झापामा वृद्धको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २६ वर्षीय दीपेशकुमार सिंहले भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको हत्या गरेका हुन् । ​बिहीबार साँझ आफ्नै घरमा परिवारसँग बसिरहेका खेमराजको घाँटीमा सिंहले केमिकल भरिएको सिरिन्जले प्रहार गरेका हुन् ।

सिरिन्ज आक्रमणबाट गम्भीर घाइते भएका खेमराजलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्ने बितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए । आरोपी दीपेशलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएका छन् । ​प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार योजनाबद्ध रुपमा हत्या गरेको देखिएको छ ।

एमबीबीएसका विद्यार्थी दीपेशले बिहीबार बिहानै अवकाश प्राप्त शिक्षक खोज्नुपर्ने बहाना बनाएर खेमराजको घर पहिचान गरेका थिए । खेमराजकी छोरी र दीपेश एउटै कलेजका विद्यार्थी रहेको प्रहरीको भनाइ छ । केही महिना अघि दीपेशले खेमराजकी छोरीको फोटो ‘एडिट’ गरेर बदनाम गर्न खोजेका थिए ।

त्यसलाई लिएर उनीविरुद्ध धरान प्रहरीमा उजुरी परेको थियो । त्यसैलाई लिएर दीपेशले रिसइबी साधेको प्रहरीको भनाइ छ । मेडिकल ज्ञानको दुरुपयोग गर्दै सिरिन्जलाई हतियार बनाएर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ ।

​जिल्ला प्रहरी कार्यालय, झापाले सिरिन्जमा प्रयोग गरिएको तरल पदार्थ परीक्षणका लागि प्रयोगशाला पठाएको छ । दीपेशमाथि ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार