काठमाडौं । खोटाङमा बिहे भोज खाँदा बिरामी पर्नेको संख्या बढिरहेको छ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि आफन्त र स्थानीयवासी बिरामी परेका हुन् ।
माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित करिब डेड सय स्थानीय बिरामी परेका छन् । उपचारपछि धेरैजसो बिरामी निको भएर घर फर्किरहेका छन् । तर, नयाँ बिरामी थपिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । माघ २५ गते मात्रै ४५ जना नयाँ बिरामी थपिएका छन् । कतिपय उपचारपछि घर फर्किएका बिरामीसमेत दोहोरिरहेका छन् । बिरामीको संख्या अधिक भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङमा दिलबहादुर राईको घरमा उपचार शिविर खडा गरिएको छ ।
गाउँपालिकाले माघ २३ गतेदेखि शिविर खडा गरेर निगालावासमै उपचारको प्रवन्ध मिलाएको हो । बिरामीलाई राखेर उपचार गर्नका लागि पाल टाँगिएको छ । घरको कोठा, सिकुवा, आँगन र पेटीमै ओछ्यान हालेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । अलि सिकिस्त भएका सात बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा लगेर उपचारमा राखिएको छ । विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको करिव १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको थियो ।
बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधि सहितको जनशक्ति मगाइएको थियो । नयाँ बिरामी थपिइरहे पनि समस्या नियन्त्रणउन्मुख छ । प्रहरीका अनुसार भोज खाएका जति सबै स्थानीय बिरामी परेका छन् । भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुनासमेत बिरामी परेका छन् । भोज खानेक्रममा ‘फुड पोइजनिङ’ भएको अनुमान गरिएको छ ।
हालसम्म बिरामीको यकिन तथ्यांक भने प्राप्त भएको छैन् । सयभन्दा बढी स्थानीय बिरामी परेको प्रहरीको अनुमान छ । भोज खाएका कारण विरामी पर्नुको कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ संकलन गर्न टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङले बताएको छ ।