आइतवार, श्रावण २४ गते २०८३

निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न हेडक्वार्टरले ७ वटै प्रदेशमा एआईजी खटायो

आइतवार , माघ २५, २०८२

काठमाडौं । निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआईजीहरुलाई खटाएको छ ।

७ वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटिएका हुन् । प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती बुझ्न खटिएका छन् । कर्णालीमा सुशिल सिंह राठौर र लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदी खटिने भएका छन् ।

गण्डकीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा. मनोज केसी, बागमती प्रदेशमा शिद्धी बिक्रम शाह र मधेस प्रदेशका सबै जिल्लामा पुगेर एआईजी डम्बर बिक काठमाडौं फर्किएका छन् । कोशी प्रदेशमा राजन अधिकारीलाई खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेश सबैभन्दा संवेदनशील मानिएको छ । चुनाव भन्दा दुई दिन अघि हुने होलीका कारण निर्वाचन प्रभावित हुने आकलन गरिएको छ । एआईजीहरूले निर्वाचन सुरक्षामा हालसम्म भएको तयारी, साधन स्रोतको अवस्था र संवेदनशीलताबारे अध्ययन गर्नेछन् । प्रहरी स्रोतले भन्यो, ‘अनुगमनबाट फर्केपछि हामी प्रतिवेदन दिन्छौँ, सो प्रतिवेदनको आधारमा सुरक्षा रणनीति तय गरिने छ ।’

एआईजीहरूले जिल्ला सुरक्षा समितिसँग पनि निर्वाचन सुरक्षा चुनौती र स्थानीय तहमा तय गरिएको रणनीतिबारे बुझ्नेछन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ लिँदै छ । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो ।

त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार