काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा सम्पन्न भएको छ ।
बैठकमा महामन्त्री गुरुराज घिमिरेले पूर्वनिर्धारित प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२’ तथा ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ । गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेका छन् ।
बैठकमा उपसभापति पुष्पा भुसालसहित सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी तथा प्रवक्ता देवराज चालिसेले आ–आफ्ना धारणा राखेका थिए ।