काठमाडौं। नेपाल र भारतबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
खेल साँझ ५:३० बजे दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुने छ। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले बराबरी खेलेका थिए। दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन्। नेपाल दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ। त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो।
पहिलो खेल हुने अघिल्लो दिन मात्र अखिल नेपाल फुटबल संघ एन्फाले सरकार र सीसीएमसीबाट दर्शक प्रवेशका लागि अनुमति प्राप्त गरेपछि पहिलो खेल करिब पाँच हजार दर्शकले दशरथ रंगशालामै पुगेर हेरेका थिए।
गत चैतमा नेपालमै आयोजना भएको थ्री नेशन्स कप फुटबलमा पनि दर्शकलाई प्रवेश अनुमति थियो। तर वैशाख–जेठमा भएको नेपाल सुपर लिगमा भने निषेधाज्ञाका कारण दर्शक प्रवेश अनुमति थिएन।
नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन्। त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो। साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ।
नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन।