काठमाडौं । खोटाङमा विहे भोज खाएका बिरामीको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली पुगेको छ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बेहुला–बेहुलीसहितका बिरामीको अवस्था बुझ्न मन्त्री लिम्बूसहितको टोली त्यहाँ पुगेको हो ।
विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो टोली घटनास्थल दिप्लुङ पुगेको हो । दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको थियो ।
यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी भोलिपल्ट अर्थात् माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेपछि तनाव सिर्जना भएको हो । विवाह भोज खाएकै कारण बिरामी परेका स्थानीयको उपचारका लागि शिविर आयोजना गरेर गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् ।
शिविरमा बिरामी परेका स्थानीयवासी उपचारका लागि आउने र जानेक्रम जारी रहेको छ । विवाह भोज खाएर घर फर्किएका उदयपुर, धरान, काठमाडौं लगायतका पाहुनासमेत बिरामी परेका थिए । पुनः उपचारमा आउनेहरू अधिकांशमा निरन्तर पेट दुखिरहने र पखाला लाग्नेजस्ता समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
यही माघ २३ गते स्थापना गरिएको स्वास्थ्य शिविरमा बिरामीको चाप बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा समेत उपचारको व्यवस्था मिलाइएको थियो । विवाह भोजमा सहभागी सबैजना पाहुना बिरामी भएपछि जन्तेढुङ्गा गाउँपालिकामा तनाव सिर्जना भएको छ ।
पहिचान नभएका समस्याले विवाह भोजमा सहभागी सबैजना बिरामी भएपछि जिल्लास्थित सम्पूर्ण जनशक्ति नियन्त्रणमा जुटेका छन् ।