काठमाडौं । काठमाडौंमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ ।
लुटपाटमा प्रहरीको समेत संलग्नता रहेको खुलेको छ । माघ १४ गते लाम्गादेलाई बिलसहितको सुन सस्तोमा बेच्ने भन्दै एउटा समूहले कीर्तिपुरमा बोलाएको थियो । तर पैसा लिएर सुन किन्न गएका उनलाई त्यो समूहले लुटपाट गरेर फरार भएको थियो । लुटपाटमा संलग्न व्यक्तिले आफू सीआईबीको प्रहरी रहेको बताएका थिए । तर उनी सीआईबीमा नभइ प्रहरीमा रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार ३८ वर्षका कर्णबहादुर सुनारलाई पक्राउ गरेको हो । नवलपरासीको कावासोती नगरपालिका १३ स्थाई घर भएका सुनार प्रहरी हुन् । प्रहरीले यसअघि नै माघ १८ गते भक्तपुरको कटुन्जेबाट एक लाख ९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।
यस्तै, लुटपाटमा जाँदा प्रयोग गरेको अपाचे मोटरसाइकल, मोबाइल लगायतका प्रमाणसहित रसुवा नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौं तारकेश्वर ५ लोलाङ बस्ने ३२ वर्षका विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका ७ घर भई लोलाङमै बस्ने २८ वर्षका जीवन तामाङ पक्राउ परेका थिए ।
जीवन तामाङलाई माछापोखरीबाट पक्राउ गर्दा उनको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको २२० सीसीको पल्सर मोटरसाइकल र ४ लाख ३३ हजार रुपैयाँ बरामद गरेको हो । उनीहरूको बयानका आधारमा प्रहरी हवल्दार सुनार पनि पक्राउ परेका हुन् ।
उनीहरूलाई डाँका चोरी सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।