काठमाडौं । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा जारी आइसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा अष्ट्रेलियाले आयरल्याण्डलाई जितका लागि १८३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको हो । अष्ट्रेलियाको ब्याटिङमा मध्यक्रमका ब्याटर मार्कस स्टोइनिसले सर्वाधिक ४५ रनको योगदान दिएका छन् । उनले २९ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका छन् । त्यस्तै, जोस इन्ग्लिसले विष्फोटक ब्याटिङ गर्दै १७ बलमा ६ चौका र १ छक्काको मद्दतले ३७ रन बनाएका हुन् ।
म्याट रेनशाले पनि ३३ बलमा ३७ रन जोड्दै टोलीको स्कोर उकास्न मद्दत गरे । खेलको सुरुवातमा ओपनर ट्राभिस हेड ७ बलमा ६ रन बनाएर रनआउट भएका थिए । अर्का ब्याटर क्यामरुन ग्रीनले ११ बलमा २१ रन जोडे भने ग्लेन म्याक्सवेल ९ रनमा आउट भए । इनिङ्सको अन्त्यतिर कुपर कोनोली र जेभियर बार्टलेटले अविजित रहँदै समान ११(११ रन जोडेका थिए ।
आयरल्याण्डका तर्फबाट बलिङमा मार्क एडेयर सबैभन्दा सफल रहेका छन् । उनले ४ ओभरमा ४४ रन खर्चिएर २ विकेट लिएका छन् । त्यस्तै म्याथ्यू हम्फ्रेज, जर्ज डकरेल र ह्यारी टेक्टरले समान १–१ विकेट लिएका छन् । ग्यारेथ डेलानीले २ ओभरमा मात्र १२ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् ।
१८३ रनको विशाल लक्ष्य पछ्याउँदै अहिले आयरल्याण्डले जवाफी ब्याटिङको तयारी गरिरहेको छ ।