काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीनजना यात्रु अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
मंगलबार बिहान करिब १०ः४० बजे दुर्घटना भएको थियो । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रु बाहक बस मन्थली नगरपालिका–६, बेनीघाटस्थित सडकबाट तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनापछि बसमा सवार चालकसहित २० जनालाई उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।