आइतवार, श्रावण २४ गते २०८३

टर्कीमा मन्त्रीले शपथ लिँदा सत्तारुढ र विपक्षी सांसदहरूबिच उग्र झडप

बिहिवार , माघ २९, २०८२

काठमाडौं । टर्कीको संसद्‌मा बुधबार सत्तारुढ र विपक्षी सांसदहरूबिच उग्र झडप भएको छ । नयाँ मन्त्रीको शपथ ग्रहण रोक्न खोज्दा बुधबार भएको धकेलाधकेल र मुक्का हानाहानले संसद् भवन रणमैदान बनेको थियो ।

राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का सांसदहरूले विरोध जनाएका हुन् । विपक्षी सांसदहरूले गुर्लेकलाई रोस्टम पुग्नबाट रोक्न खोजेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सांसदहरू एक–अर्कामाथि जाइलागेको र मुक्का हानाहान गरेको देखिन्छ । विपक्षी दलका अध्यक्ष ओजगुर ओजेलले यस नियुक्तिको कडा विरोध गरेका छन् ।

उनले भने, ‘एर्दोगानले गुर्लेकलाई नियुक्त गरेर हाम्रो पार्टीको पहिचानमाथि प्रहार गरेका छन् । भोलिको बिहानी आजको भन्दा झन् कठिन हुने निश्चित छ, तर हामी आत्मसमर्पण गर्ने छैनौं ।’ गुर्लेकले विगतमा विपक्षी नेताहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको आरोप लाग्दै आएको छ । विपक्षी दलका एक वरिष्ठ नेताले संसद्‌मा बोल्दै भने, ‘न्यायपालिकालाई हतियार बनाएर विपक्षीको घाँटी रेट्ने व्यक्तिलाई हामी न्यायमन्त्रीका रूपमा स्वीकार गर्न सक्दैनौं । यो लोकतन्त्रको उपहास हो ।’

सांसदहरूबीच धकेलाधकेल र मुक्का हानाहान हुँदा केही सांसदहरूको हात र अनुहारमा सामान्य चोट लागेको छ । यद्यपि, सत्तारुढ एके पार्टीका प्रवक्ता ओमार चेलिकले भने विपक्षीको व्यवहारलाई असंसदीय भन्दै बचाउ गरेका छन् । उनले भने, ‘जनताको मतबाट चुनिएको सरकारले गर्ने नियुक्तिमा अवरोध पुर्‍याउनु लोकतान्त्रिक चरित्र होइन। न्यायपालिका स्वतन्त्र रूपमा चल्ने कुरामा सरकार प्रतिबद्ध छु ।’

गुर्लेक इस्तानबुलको प्रमुख अभियोजक हुँदा इस्तानबुलका लोकप्रिय मेयर एकरेम इमामोग्लुसहित धेरै सीएचपी नेताहरूलाई मुद्दा चलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार