आइतवार, श्रावण २४ गते २०८३

स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा वीर अस्पतालले गर्‍यो कटौती

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो ।

उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो । फागुन १ गतेदेखि उक्त सेवा लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराइने छ ।’ अस्पताल स्रोतका अनुसार बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको हो । बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले जानकारी दिएका छन् ।

अस्पताल स्रोतले भन्यो, ‘वीर गरिबको अस्पताल भएकाले सबै बन्द गर्दा बिरामी मारमा पर्छन् । अहिले आर्थिक दायित्व कम गर्नका लागि सेवा थोरै कटौती गरेका हौं ।’ अस्पतालले सबैभन्दा ठूलो चुनौती औषधि खरिदमा भोगिरहेको छ । उनी भन्छन्, ‘सरकारले पैसा नदिँदा औषधि किन्न सकिएको छैन्, उपकरण बनाउन सकिएको छैन्, सेवालाई धान्न नै मुस्किल भइरहेको छ ।’

स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा परेको छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम समयसीमा तोकेर बन्द गर्न थालेका छन् ।

बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई असार मसान्तसम्मको ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार