काठमाडौँ । बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ।
एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेपछि स्थापना भएको पार्टी हो।
आन्दोलनको नेतृत्व गरेको भए पनि निर्वाचनमा भने खराब प्रदर्शन गरेको छ। एनसिपीले ६ सिटमा मात्रै जित्ने सम्भावना देखिएको भनेर शुक्रबार बिहान बंगलादेशको सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेको थियो।
द डेली स्टारका अनुसार गएराति नै एनसिपी प्रवक्ता आशिफ महमुदले पत्रकार सम्मेलन गरी मतगणनामा गडबडी भएको बताएका हुन्। उनले अन्तिम नतिजा सार्वजनिक गर्नुअघि विवादित सिटहरूको पुनःसमीक्षा गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
एनसिपीले जमात-ए-इस्लाम लगायत ११ वटा दल मिलेर गठबन्धन गरेको थियो। '११–दलीय गठबन्धनका शीर्ष उम्मेदवारलाई लक्ष्य गरेर नतिजा हेरफेर गरिएको भन्ने स्पष्ट प्रमाण हामीले पाएका छौं,' पत्रकार सम्मेलनमा आशिफ महमुदले भनेका छन्।