काठमाडौँ । महाशिवरात्रि पर्वको कारण यतिबेला पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो लागेको छ।
पशुपतिसहित देशभरका शिवालयहरुमा आज शिवको पूजा, आराधना गरी शिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ।
पशुपति मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि ठूलो संख्यामा भक्तजन पुगेका छन्। जसले पशुपति क्षेत्रको रौनकता बढाएको छ।
यस वर्षको महाशिवरात्रिमा कम्तीमा पनि आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। यस वर्ष करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिए।
दर्शनार्थीको सहजताका लागि आज बिहान ४ः०० बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ।
कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको प्रहरीले जनाएको छ।