काठमाडौं। नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको छ। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा गोररहित बराबरी रहेकोमा दोस्रो हाफमा भारतले दुई र नेपालले एक गोल गरेको हो।
नेपालविरूद्ध पहिलो गोल भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गरेका थिए। ७९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २–० को अग्रता बनायो।
खेलको ८६ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
यसैविच नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको बताएका छन्।दशरथ रंगशालामा आइतबार भारतसँगको खेल २–१ ले गुमाएपछि पत्रकार सम्मेलनमा उनले नतिजा बिर्सँदा नेपाली टिमको प्रदर्शनबाट खुशी रहेको बताए।