काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी विरुद्ध सक्रिय प्रतिक्रियावादी शक्तिहरूलाई समय आएपछि तह लगाउने बताएका छन् ।
आइतबार गृहजिल्ला झापामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विपक्षीहरूको घेराबन्दीलाई चिर्न एमाले सक्षम रहेको बताएका हुन् । विपक्षी दलहरू र सरकारका गतिविधिप्रति आक्रामक देखिएका ओलीले आफूहरू अहिले चुपचाप काममा लागेको सुनाए ।
उनले भने, ‘अहिले हामी काममा लागेका छौं । प्रतिक्रियावादी शक्तिहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने हामीलाई राम्ररी थाहा छ । त्यसैले अहिले उनीहरूका सानातिना कुरामा अल्झिन चाहँदैनौँ ।’ अध्यक्ष ओलीले आगामी फागुन २१ गतेपछि राजनीतिक परिस्थितिमा नयाँ मोड आउने बताएका छन् ।
उनले भने, ‘अहिले धेरैले धेरैतिरबाट प्रश्न उठाइरहेका छन्, एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन्, तर ती सबै भ्रम र षड्यन्त्रको जवाफ हामी फागुन २१ पछि ठोस रूपमा दिनेछौँ । कसैले एमालेलाई कमजोर नठाने हुन्छ ।’
विगतदेखि नै एमाले विरुद्ध विभिन्न शक्तिहरूले मोर्चाबन्दी गरेको सुनाउँदै ओलीले ती सबैलाई समयले नै ठेगान लगाउने बताए ।