बिहिवार, आश्विन १५ गते २०८३

चुनाव जित्ने नाममा जे पनि आश्वासन भाषण र घोषणापत्र मार्फत नगरौँ : विश्वप्रकाश शर्मा

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरेका छन् ।

सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले जे पनि आश्वासन दिँदा भोलि समाजमा निराशा फैलिने बताएका छन् । शर्माले भने, ‘चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौँ । स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न, चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरूमार्फत नगरौँ ।’ उनले देशमा चाहिने सुधारबारे कांग्रेसले योजना बनाएको बताए ।

जेनजीको भावना देशलाई अगाडि बढाउन कांग्रेस तयार रहेको उनको भनाइ थियो । शर्माले भने, ‘देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौँ हामीले । जेनजी विद्रोहको भावना बमोजिम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौँ, देश जान्दछ काँग्रेस बदलिएको छ र यो पनि देश जान्दछ, जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।’ कांग्रेस बदलिएको उनको जिकिर थियो ।

कोही पनि आजीवन सत्तामा बसिराख्ने बाटो बन्द गरिएको उनको भनाइ थियो । उनले भने, ‘बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २,३ र ४ को नीति संविधानमा अंकित गर्नेछौं, अब उप्रान्त कोहि पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन पाउने छैनन् ।’

उनले लमजुङको कांग्रस जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन् । त्यस्तै, बीपी कोइरालाको सालिक अनावरण गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार