बिहिवार, आश्विन १५ गते २०८३

नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । यसले सर्वसाधारणमा त्रास सिर्जना गर्नुका साथै केही स्थानमा सवारी आवागमन प्रभावित भएको छ ।

झापाको कन्काई पुल (शिवसताक्षी नगरपालिका–१०,माईधार) को बीच भागमा कागजले बेरिएको शंकास्पद वस्तु फेला परेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएर वस्तुको प्रकृतिबारे अनुसन्धान गरेसङ्गै बम डिस्पोजल टोलीलाई खटाइएको हो । शंकास्पद वस्तुलाई बेरिएको कागजमा ‘नेपाल बन्द,होशियार’ लेखिएको छ ।

उता लुम्बिनी गेट नजिक भैरहवामा पनि बोराभित्र राखिएको शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको टोलीले डिस्पोज गर्दा क्यानभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउने प्रयास गरिएको खुलेको प्रहरीले जनाएको छ।

बन्दका कारण केही जिल्लामा शिक्षण संस्था बन्द भएका छन् भने लामो दूरीका सवारी साधन आंशिक रूपमा प्रभावित भएका छन् । यद्यपि बजार क्षेत्र अधिकांश स्थानमा खुलेका छन् ।

त्यसैगरी बाँकेमा हिजो रातिदेखि नै राजमार्गमा टायर बालेर बन्दको समर्थन गरिएको छ । आज बिहान पनि सडकमा टायर बालिएको थियो । यसले चुनाव प्रचारमा हिँडेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरुलाई अप्ठेरो पारेको बताइन्छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार