बिहिवार, आश्विन १५ गते २०८३

‘जिते पनि सेवा, हारे पनि सेवा’ भन्दै भोट माग्दै रामेश्वर फुयाल

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौ–३ का प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर फुयालले ‘जिते पनि सेवा, हारे पनि सेवा’ भन्दै मत मागिरहेका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ ।

स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका उनले जनताको हित नै आफ्नो प्रमुख लक्ष्य भएको बताए । गाउँ विकास समितिका पूर्वअध्यक्षसमेत भएका उनले स्थानीयको समस्या पनि राम्रोसँग बुझेका छन् । उनी भन्छन्, ‘म दिनरात जनताको सेवामा नै हुन्छु, सके आफैं सहयोग गर्छु नसकेको ठाउँमा कहाँ कसलाई भन्नुपर्ने हो त्यो गरेको छु, राजनीतिमा लागेको एउटा व्यक्तिले जे–जे राम्रो काम गर्नुपर्ने हो त्यो सबै गरेको छु भन्ने लाग्छ ।’ उनले आफूसँग केही प्रश्न भए राख्न पनि मतदातालाई आग्रह गरेका छन् ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानीका साथै नदी संरक्षण, ऐतिहासिक सम्पदाको संरक्षणका साथै जनताको जनजीविकाको विषयलाई प्राथमिकतामा राखेका छन् । सांसद हुँदा र नहुँदा पनि जनताको घरदैलोमा पुग्ने गरेका उनी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । उनले भने, ‘पार्टीमा नै सबै लाग्नुपर्छ भन्ने छैन तर मत भनें मलाई दिए पुग्छ, तपाइको मतको दुरुपयोग हुने छैन्, म त जनताको सेवक हुँ, यस अर्थमा जनताको नोकर नै भने पनि हुन्छ ।’ उनी अहिले चुनावी अभियानको क्रममा गाउँगाउँसम्म पुगेका छन् ।

गाउँमा मतदाताले गरेका गुनासा र समस्यालाई टिपेका उनले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं–३ बाट नै निर्वाचित भएका थिए । २०७४ सालको प्रदेशसभामा प्रदेश सांसद जितेका उनी वागमति प्रदेशको मन्त्री पनि भए । मन्त्री हुँदा आफूले गरेका काम पनि उनी मतदातालाई सुनाउँदै आएका छन् ।

उनले भने, ‘म राजनीतिलाई सेवा ठान्छु, यही अभियानमा अघि बढेको छु, एकपटक फेरि काम गर्ने अवसर पाएँ भनें बाँकी काम पूरा गर्ने छु, विकास र समृद्धि मेरो एजेण्डा हो, यो क्षेत्रका जनताको मुहारमा परिवर्तन ल्याउने जिम्मा अब मलाई दिनुहोला ।’ उनले एमालेको सरकार हुँदा धेरै राम्रा काम भएको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार