काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो देशको इतिहास लेख्ने भूमि पनि चितवन भएको बताएका छन् । मंगलबार चितवन-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चितवन धेरै हिसाबले उर्वर भूमि रहेको बताएका छन् ।
लामिछानेले भने, ‘यो चितवन धेरै हिसाबले उर्वर भूमि हो । देवभूमि, तपोभूमि यो हुँदै हो । तर यो देशको इतिहास लेख्ने भूमि पनि चितवन भएको छ ।’ चितवनबाटै सुरु भएको रास्वपा देशभर फैलिएको उनको भनाइ थियो । उनले थपे, ‘म गर्वका साथ भन्छु तीन वर्ष अगाडि चितवनले रोपेको यो क्रान्ति, निलो क्रान्ति आज फैलिएर देशको पहिलो पार्टी बन्न गएको छ, इतिहास रच्ने यो यात्रा सुरु गरेको चितवनलाई साथ दिन देश भरिका अन्य जिल्लाहरू तयार भएको मैले विभिन्न ठाउँमा जाँदा पाएको छु ।’
उनले आगामी चुनावलाई सामान्य रुपमा नलिन आग्रह गरे । फागुन २१ गते क्रान्ति गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुने वाला छैन् । यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ । यस पटक पूरा गर्नै पर्छ ।’ राजनीतिको आडमा राज्यका संरचनालाई भर्ती केन्द्र बनाउनेहरूलाई सबक सिकाउन सचेत गराए । देशका अन्य ठाउँलाई विभेद गरेको हिसाबकिताब गर्नुपर्ने उनको भनाइ थियो ।
आफूमाथि भएको अन्यायको पनि हिसाबकिताब गरिने उनको भनाइ थियो । लामिछानेले भने, ‘मलाई जिल्लै पिच्छे मुद्दा हालेका हिसाबहरू छन् । म माथि भएका अन्याय अत्याचारका हिसाबहरू छन् । त्यसको न्यायिक लडाइँ, कानुनी लडाइँ म लडुँला । तर ३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका छन्, त्यसको हिसाब गर्नुपर्ने छ । त्यो हिसाब हामी लिन्छौँ ।’
चितवन-२ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका लामिछाने केही दिनदेखि चितवनमा चुनावी कार्यक्रम गरिरहेका छन् । चितवन-१ बाट रास्वपाका हरि ढकाल उम्मेदवार छन् ।