काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आम सभामा कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर उनले मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गर्न लागेको आम सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेका हुन् । सभापति यादवले आठै जिल्लाबाट व्यापक सहभागिता हुने बताए । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने आम सभामार्फत कांग्रेसले फागुन २१ को निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुने उनको भनाइ छ ।
यादवले भने, ‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ, यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’ मधेस प्रदेशमा कांग्रेसका कुनै बागी उम्मेदवार नरहेको भन्दै पार्टी एकताबद्ध र सुदृढ अवस्थामा रहेको सभापति यादवको भनाइ छ ।
उनले भने, ‘हामी एकढिक्का भएर चुनावमा होमिएका छौँ । पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन् ।’ जनकपुरधामको तिरुहुतिया गाछीमा हुने आमसभामा कांग्रेसले प्रतीज्ञापत्र पनि सार्वजनिक गर्ने यादवले बताए ।
प्रतीज्ञापत्रमा मधेसका विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डा प्राथमिकतामा रहने उनले जानकारी दिए ।