बिहिवार, आश्विन १५ गते २०८३

रास्वपाका वरिष्ठ नेता बालेनको नागरिकता विवाद के हो ?

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न उठेको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघि उनको नागरिकतामा साह रहेको थर पछि परिवर्तन गरिएको पाइएको छ । महोत्तरीबाट २०६३ सालमा लिएको नागरिकतामा बालेन्द्र साह उल्लेख छ । यो नागरिकता २०६३ साल पुस ९ गते तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए । तर काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि २०७९ साल असार १९ गते लिएको नागरिकताको प्रतिलिपिमा भने अर्को ‘साह’को ठाउँमा ‘शाह’ लेखेको पाइएको छ ।

मधेसको महोत्तरी जिल्लाको एकडारामा जन्मिएका शाहको परिवार काठमाडौंमा बसाइ सरेको थियो । बसाइँसराइ प्रमाणपत्रमा पनि बालेनका बुवाले आफ्नो पारिवारिक विवरणमा सबैको थर साह नै लेखेको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ९ को कार्यालयले दिएको बसाइँसराइको प्रमाणपत्रमा पनि बालेन परिवारमा सबैको थरमा मधेसमा लेखिने साह नै उल्लेख गरिएको छ ।  यति मात्रै होइन, बालेनका स्वर्गीय बुवा रामनारायण साहले प्रतिलिपि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा नागरिकता फर्ममा पनि उनको नाम पुरानै नागरिकता अनुसार रामनारायण साह नेपाली नै लेखिएको छ ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७९ मंसिर ७ गते जारी गरेको नागरिकतामा उनको थर परिवर्तन गरिएको छ । जसमा रामनारायण साह नेपालीबाट उनी ‘रामनारायण शाह’ भएका छन् । यही मितिमा जारी नागरिकताको प्रतिलिपिमा पनि आमाको नाममा ध्रुवदेवी शाह लेखिएको छ । यद्यपि, त्यसअघिका नागरिकतामा भने ध्रुवदेवी साह उल्लेख छ । बालेनको परिवारमा सबैको नागरिकतामा अहिले थर परिवर्तन गरेर शाह लेखिएको भएपनि उनकै दाइको नागरिकतामा भने त्यो परिवर्तन गरिएको छैन् ।

काठमाडौं बसाइँ सरेपछि सबैले नयाँ प्रतिलिपि लिँदा नागरिकताको थरमा परिवर्तन गरेपनि दाइ कौशलेन्द्रले भने आफ्नो पुरानै नागरिकता अनुसार २०७८ सालको मंसिर १५ मा कैशलेन्द्र साहको नामबाट नागरिकताको प्रतिलिपि लिएको पाइएको छ ।

महोत्तरीबाट जारी गरिएको नागरिकतामा लेखिएको कौशलेन्द्र साह नै अहिले पनि उनको नागरिकता तथा नाता प्रमाणित गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार