काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक नगरपालिकाभित्र ६ हजार मजदुर नागरिकलाई रोजगार मिलेको बताएका छन् ।
आज झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । अध्यक्ष ओलीले भने, ‘पहिलो पटक यो क्षेत्रमा आफू चुनाव प्रचारमा हिँड्दा गाडीमा नै कोदालो (फरुवा) बोकेर हिँड्नु पर्थ्यो । पूर्वपश्चिम राजमार्ग बाहेक अन्य क्षेत्रमा कालोपत्र सडक थिएन ।’
खासगरी २०७२ सालपछि नेकपा एमाले नेतृत्वमा सरकार निर्माण भएपछि अहिले कालोपत्र सडक नभएको क्षेत्र खोज्दै हिँड्नु परेको छ । पछिल्लो २०७२ देखि ८२ सालको दश वर्षबीचको समयमा नेपालमा असाधारण रूपमा विकासले फड्को मारेको छ । यो क्षेत्रमा भएको भौतिक विकासले गर्दा अहिले दमक नगरपालिकाभित्र मात्र अहिले लगभग ६ हजारभन्दा बढी तीनपाङ्ग्रे सिटी रिक्सा सञ्चालनमा रहेका छन् ।
नगरभित्रका प्रायः सबै क्षेत्रमा कालोपत्रे सडक पुगिसकेको छ । जसले गर्दा नै यति धेरै संख्यमा तीनपाङ्ग्रे सवारी साधन चल्न सहज भएको छ । दैनिक प्रत्यक्ष रूपमा ६ हजार मजदुर वर्गमा रहेका नागरिकलाई रोजगार मिलेको अध्यक्ष ओलीको भनाइ छ ।