बिहिवार, आश्विन १५ गते २०८३

सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा बजेको दिन सुदूरपश्चिम जोडिन्छ : बालेन शाह

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले  सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा बजेको दिन सुदूरपश्चिम जोडिने बताएका छन् ।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले काम दिन आग्रह गरे । शाहले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो । काम दिनुस्, भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनू । रास्वपाले काम गरेर देखाउँछ ।’ उनले छोटो सम्बोधनमा सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्नुपर्ने बताएका छन् । त्यसका लागि रास्वपाले काम गर्ने उनको भनाइ थियो ।

उनले गरिबले सहज रुपमा स्वास्थ्य उपचार गर्न पाउने नै रास्वपाको एजेन्डा रहेको बताएका छन् । तोकिएकै समयमा बाटो बन्नुपर्ने आफ्नो एजेन्डा भएको उनले सुनाए । शाहले भने, ‘खल्तीमा पैसा नभएको गरिबले स्वास्थ्य उपचार गर्न पाउनुपर्‍यो, दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म नबन्न हुनु भएन । दुई वर्षमै बाटो बन्नुपर्‍यो, यहि राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा हो ।’

अन्य दलले जस्तो रास्वपाले बाटो बनाउँदा पार्टी नहेर्ने उनको भनाइ थियो । शाहले भने, ‘रास्वपा सरकारमा गयो भने कांग्रेसले हिड्ने पनि बाटो बनाउँछ, एमाले हिड्ने पनि बाटो बनाउँछ, माओवादी हिड्ने पनि बाटो बनाउँछ । सबै हिड्ने बाटो बनाउँछ, सबै नेपाली हिड्ने बाटो बनाउँछ ।’ नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउने भने पनि त्योभन्दा राम्रो सुदूरपश्चिम रहेको उनको भनाइ थियो ।

उनले अब सुदूरपश्चिमलाई देशसँग जोड्नुपर्ने बताए । उनले भने, ‘सुदूरपश्चिमलाई जोड्नुपर्छ। सुदूरपश्चिमको गीत काठमाडौंको चोकचोकमा बजेको दिन सुदूरपश्चिम जोडिन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार