काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा सभापति गगन थापाले ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका हुन् । सो पत्रमा ‘आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ’ उल्लेख छ । कांग्रेसले ‘हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ’ लिपिबद्ध गरेको स्पष्ट पारेको छ ।
‘पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ शिर्षक दिएर प्रतिज्ञा पत्रमा लेखिएको छ, ‘हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन् ।’
प्रतिज्ञा पत्रमा लेखिएको छ, ‘प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिता समेत पाउनेछन् । युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बीमा र भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड’ बनाउने भिजन बोकेका कृषि उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।’
कांग्रेसले ४ पृष्ठको १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो । यस्ता छन् कांग्रेसका १० बुँदा–
१. कांग्रेसको भएर बाँच्ने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्कने नेपाल