काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले आफू इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित हुने बताएका छन् ।
चुनावी घरदैलो अभियानका क्रममा शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा पुगेका मिश्रले विगतमा धेरै नेताले जनमत पाए पनि देशको अवस्था बदल्न नसकेको भन्दै आफू फरक सोचका साथ मैदानमा उत्रिएको दाबी गरेका हुन् । मिश्रले मतदाताहरूसँग कुरा गर्दै यदि जनताले आफूलाई विश्वास गरेर विजयी गराएमा राम्रा बाहेक अन्य कुनै पनि गलत काम नगर्ने वाचा गरेका छन् । उनले अबको २०–३० वर्षपछिको नेपाल कस्तो बनाउने भन्ने दुरदृष्टि राखेर देशको नीति निर्माण र कानुन बनाउन आफू सक्रिय हुने बताए ।
देशभरका महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई संसद्को माध्यमबाट प्रभावकारी रूपमा उठाउनु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ थियो । स्थानीय समस्याका बारेमा बोल्दै मिश्रले काठमाडौं–१ का बासिन्दाले भोग्दै आएका खानेपानी, बिजुली, ढल र डुबान जस्ता समस्या समाधानमा आफू स्वयं उपस्थित भएर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, ‘जनतालाई समस्या पर्दा म आफैँ उपस्थित हुनेछु र समाधानका लागि हरसम्भव प्रयास गर्नेछु ।’ विकासका योजनाहरू केवल कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नका लागि आफूलाई यसपटक अवसर दिन उनले मतदाताहरूसँग आग्रह गरेका छन् ।