आइतवार, श्रावण २४ गते २०८३

वीरगञ्ज तनावग्रस्त, कर्फ्यु जारी

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौँ । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै सोमबार बिहान १० बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । आइतबार साँझ वीरगञ्ज महानगर–११ श्रीपुरमा गाडी पार्किङको विषयमा दुई समुदायबिच झडप हुँदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको थियो ।

दुवै पक्ष झडपमा उत्रिए स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेर भिड तितरबितर पारेको थियो । सोमबार बिहानैदेखि नारा जुलुस हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले स्थानीयलाई आ–आफ्नो घरभित्र बस्न आग्रह गरेको छ । सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना विभिन्न स्थानमा परिचालन गरिएको पर्साका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताएका छन् ।

सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न समेत पर्सा प्रशासनले अपिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार