काठमाडौं । काठमाडौंको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।
हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो ।
होली पर्वको शुभारम्भ भएको दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ । पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्त्व रहिआएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भस्म भएकी थिइन् ।
आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वासअनुरूप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।