काठमाडौं । लाइसेन्स प्राप्त कम्पनीबाट मात्र अब घरजग्गाको कारोबार गर्न पाइने भएको छ ।
देशभरका महानगर र उपमहानगरपालिकामा ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब लाइसेन्स प्राप्त कम्पनीबाट मात्रै गर्न पाइने भएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिकाभित्र घरजग्गा कारोबारमा लागि लाइसेन्स लिएका कम्पनीहरूको सूची सार्वजनिक गर्दै थैली अंक ३ करोडभन्दा माथिको घरजग्गाको कारोबार गर्दा फागुन २५ गतेदेखि ती कम्पनीहरूबाट मात्रै गर्न निर्देशन दिएको हो ।
विभागले महानगरपालिका र उपमहानगरपालिकाभित्रको भूभाग हेर्ने सम्बन्धी भूमि सुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयलाई ३ करोडभन्दा माथिको घरजग्गा कारोबार लाइसेन्स प्राप्त कम्पनीमार्फत मात्रै गराउन परिपत्र गरेको हो । विभागले देशभरमा जग्गाको कारोबार गर्न प्रक्रिया पूरा गरेका ३६ कम्पनीलाई इजाजत दिएको छ ।
मालपोत ऐन, २०३४ को दफा २६क मा रहेको घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था अनुसार सरकारले महानगरपालिका र उपमहानगरपालिकाभित्र थैली अंक ३ करोडभन्दा माथि हुने घरजग्गा कारोबार लाइसेन्स प्राप्त कम्पनीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको हो ।